काठमाण्डौं, असोज १० : अनशनरत डा. गोेविन्द केसीको पक्षमा एक्यवद्धता जनाउदै तनहुँको दमौलीमा प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपाल तनहुँको आयोजनामा डाक्टर केसीको जीवनरक्षाको माग गर्दै युवाहरुले सांकेतिक रुपमा प्रदर्शन गरेका हुन् ।
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डाक्टर केसीको पक्षमा एक्यवद्धता जनाउदै व्यास नगरपालिका २ ट्राफिक चोकमा युवाहरले प्ले कार्डसहित मौन प्रर्दशन गरेका हुन् ।
दमौलीका विभिन्न युवा एवं सामाजिक संघ संस्थाले एक्यवद्धता जनाएको कार्यक्रममा सहभागीले केसीको जीवन रक्षा गर, दुर दराजमा मेडिकल शिक्षा खै, डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेन्सन, हाम्रो स्वास्थ्य हाम्रो हातमा हामी डाक्टर केसीको साथमा लगायतका नारा समेटिएका प्ले कार्ड प्रदर्शन गरेको युथ कांग्रेस तनहुँका अध्यक्ष राजेश कुमार श्रेष्ठले बताए । ‘डाक्टर केसीका जायज मागलाई समत सरकारले वास्ता गर्नु दुःखद विषय हो,’ उनले भने । सरकारले केसीको मागमा ध्यान नदिए थप कार्यक्रम गरिने उनले बताए ।